राजनीति

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भनेः गठबन्धनमा छलफल गरेर जबराबारे छिट्टै निर्णय लिन्‍छु

१० मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपालबार एशोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । बारका १८ पदाधीकारीले प्रधानमन्त्री देउवालाई आज बिहान भेटरेर जबरालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीसंगको भेटमा प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले राखेका थिए । कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिएका छन् । 

टोलीमा सहभागी बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै गठबन्धनमा छलफल गरेर प्रधानन्यायाधीश जबराबारे छिट्टै निर्णय लिने बताएका छन् । देउवाले गठबन्धनका दलहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका हुन् ।

जबराको राजीनामा माग्दै बिगत १ महिनादेखी आन्दोलित बारले यसअघि विभिन्न राजीनितिक दलहरुलाई पनि ज्ञापनपत्र बुझाईसकेको छ ।