११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुझ बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
“पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ”, उनले भने ।
नेता सिंहले १४ औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरेका छन् । विसं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हार्यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।





