राजनीति

ओली तनावमाः वरिष्ठ उपाध्यक्षमा नेम्वाङको अडान, रावलले अध्यक्ष मै उम्मेदवारी दिने

११ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा सर्वसम्मत गर्नका लागि आफूनिकट नेताहरूसँग गरेको छलफलमा सहमती जुटेको छैन । यो संगै एमालेका अध्यक्ष ओलीलाई यतिबेला सकस परेको छ ।

सहमति जुटाउन गरेको प्रारम्भिक प्रयास असफल भएपछि ओली तनावमा छन् । ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङलाई निर्वाचनपछि राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको प्रस्ताव गरेकोमा नेम्वाङले अस्वीकार गरेका छन् ।

नेम्वाङले वरिष्ठ उपाध्यक्षमा नै मनोनयनको अडान राखेका छन् भने शाक्यले अध्यक्ष ओलीको प्रस्तावमा मौन स्वीकृत जनाएकी छन् । नेम्वाङको अस्वीकारसंगै रावलले ओलीसमक्ष आफू जति मत आए पनि अध्यक्षमा नै उम्मेदवारी दिने पक्षमा रहेको जवाफ दिएका छन् । यससंगै सहमतिको प्रारम्भिक प्रयास असफल भएको देखिएको छ ।

उता उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहर्याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन सकिरहेको छैन ।