राजनीति

कांग्रेसले माओवादीलाई जस्तै बरालिएको एमालेलाई पनि ठिक बाटोमा ल्याउनु पर्छः गगन थापा

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेकपा एमाले चितवनबाट बरालिएको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता थापाले कांग्रेसले माओवादीलाई जस्तै प्रजातन्त्र, वर्तमान संविधान र व्यवस्थाको आधारभूत मूल्यमान्यताबाट बरालिएको एमालेलाई पनि ठिक बाटोमा ल्याउनु पर्ने बताएका हुन् ।

हतियारको राजनीति गरेको माओवादीलाई कांग्रेसले सहि बाटोमा ल्याएको भन्दै अब बरालिएको एमालेलाई पनि सहि बाटोमा ल्याउनुपर्ने नेता थापाको भनाई छ । उनले चितवनबाट फर्किदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै नभई देशको प्रजातन्त्रलाई सक्ने बाटोमा अगाडि आउने भन्दै यस्तो बताएका हुन् । उनले अगाडी भने नचाहिने कुरा गर्यो भने हप्काउने तागत राख्नुपर्छ, तथ्यहीन कुरा गर्यो भने तथ्यका आधारमा बोलेर कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।

नेता थापाले एमालेले महाधिवेशनबाट लिएको राष्ट्रिय राजनीतिको कार्यदिशा, नीति र योजनाहरूलाई कांग्रेसले नजिकबाट हेर्नुपर्ने जरुरी रहेको समेत उल्लेख गरेका छन् । साथै थापाले कांग्रेसले चितवनबाट फर्किँदै गरेको एमालेसँग चुनाव अघि नै भिड्न सक्ने ताकत जम्मा गर्नुपर्ने बताएका छन् । जसका लागि कांग्रेसमा सक्षम नेतृत्वको आवस्यकता पर्ने भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा दोहर्याएका छन् ।