राजनीति

बरिष्ठ नेता पौडेलको दाबीः कांग्रेसमा छल, बल र सल हुँदा लोकतन्त्र जोखिममा पर्यो

१२ मंपिसर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृयाशील सदस्यता वितरणदेखि नै पार्टीमा ‘सल, बल र छल’ भइरहेको बताएका छन् । पार्टीमा छ्लछाम हुँदा पार्टीको आन्तरिक लोकतन्त्रमा जोखिम उत्पन्न भएको वरिष्ठ नेता पौडेलले बताएका छन् ।

आज कांग्रेसको अबको बाटो (रुपान्तरणका दस सूत्र) सार्वजनिक गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । महामन्त्री डा. शशांक कोइराला, पूर्व सहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, नेताहरू दीलबहादुर घर्ती, कमला पन्त र प्रकाश स्नेहीलगायतको उपस्थितिमा उनले कांग्रेसको अबको बाटो (रुपान्तरणका दस सूत्र) सार्वजनिक गरेका हुन् । उनले हस्तक्षेपकारी प्रवृत्तिले लोकतन्त्रमा खतरा उत्पन्न भएको र आफ्नो एकमात्र लडाइँ लोकतन्त्रको रक्षा रहेको पनि बताएका छन् ।

नेता पौडेलले सर्वोच्च अदालतको विवादबारे पनि सबै स्पष्ट हुनुपर्ने बताएका छ्न् । महाधिवेशनमा नीति र कार्यक्रमबारे चर्चा हुनुपर्ने बताएका हुन् । पार्टीको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी महाधिवेशनमा नेतृत्व चयनको मात्र विषय नभई विचार र नीतिबारे बहस गर्नुपर्ने बताएका छ्न् ।

पौडेलले महाधिवेशनमा नीति र कार्यक्रमबारे चर्चा समेत नहुने परिस्थिति देखेर आफूले महाधिवेशनको बन्दसत्रमा यो अवसर नपाउने अवस्था भए पनि विचारको छ्लफल र मन्थन भैरहोस् भनेर आफूले पहल गरेको बताए । उनले आफूले जीवनभर लोकतन्त्रका लागि संघर्ष गर्दै आएको बताउँदै अहिलेसम्म लोकतन्त्र संस्थागत हुन नसक्नु दुःखद भएको बताएका छन् । पार्टीमा परिवर्तनका लागि देशभरका नेता कार्यकर्ताले भूमिका खेल्ने बेला आएको नेता पौडेलको भनाई छ ।