१३ मंसिर, काठमाडौं । नेकपा एमालेमा पाँचजना पदाधिकारी निर्विरोध चयन भएका छन् । (एमाले)को जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका हुन् । घोषणा हुन भने बाँकी छ ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो । कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको छैन । एमाले अध्यक्ष, उपाध्यक्ष, सचिवमा भने चुनाव हुने भएको छ । ती पदका लागि आकांक्षीहरूले उमेदवारी दर्ता गराएका छन् ।





