राजनीति

लिङदेनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छः उपसभापति निधि

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई तथा साथै शुभकामना दिदै निधिले यस्तो बताएका हुन् । उपसभापति निधिले आज विज्ञप्ति जारी गर्दै राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देनको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने आफुले बिश्वास लिएको समेत बताएका छन् ।

साथै उनले नवर्निवाचित अध्यक्ष लिङदेनको सफल कार्यकालको कामना पनि गरेका छन् । आज बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।