राजनीति

राप्रपा अध्यक्षमा विजयी लिङ्देनको दाबीः अरु नेता जस्तै रहेछ भन्ने मौका म कसैलाई दिन्न

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिएर अगाडी बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजय भएपछि लिङदेनले यस्तो प्रतिक्रिया जनाएका छन् । लिङ्देनले आफूलाई अरु नेता जस्तै रहेछ भन्ने मौका समेत आउन नदिने दावी गरेका छन् ।

‘अरु नेताजस्तै रहेछ भन्ने मौका म कसैलाई दिने छैन,’ उनले प्रतिनिधिलाई धन्यवाद दिँदै भने, ‘यो मोरा पनि उस्तै रहेछ भन्न बनाउँदिन । तपाईंहरुको शीर झुक्न दिन्नँ । ‘ उनले नेतृत्त्व परिवर्तन गर्ने कुरा सामान्य नरहेको बताएका छन् । असफल पुस्तालाई विस्थापित नगरी सुधार हुँदैन भन्ने अन्य दलहरुको नेतृत्त्व राप्रपाले गर्ने उनको भनाइ छ ।

‘कुनै नेता र व्यक्तिविरुद्द गरिएको विद्रोह होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी र यसले लिएको मुद्दाको जीवनको लागिसमेत अनिवार्य र अपरिहार्य कदम थियो, उनले भने । उनले निर्वाचित सबै मिलेर नवीन राप्रपा निर्माणमा लाग्ने पनि बताए । यता राप्रपाको अध्यक्ष पदमा पराजित भएका कमल थापा भने आफू निकट नेताहरुसँग छलफलमा जुटेका छन् ।

पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरेका छन् । लिङदेनले राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै आफुले बोलेका कुरालाई व्यवहारमा देखाउने बताएका छन् । उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताएका हुन् ।