उर्जा

लुलाङ चार महिनादेखि सोलार र टुकीको भरमा

७ पुस, म्याग्दी । म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिराले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् । गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् ।

लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो । संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको घरमा छन् । बाढीले विद्युत्गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए ।

ढीले विद्युत्गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन् । विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।

गाउँपालिकाको रु ५० लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो । बाढीले रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रु १० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताएका छन् । दुई महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।