उर्जा

तीन जलविद्युत् आयोजनाका १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा

७ माघ, खोटाङ । खोटाङका तीनवटा जलविद्युत् आयोजनाबाट १०।६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०।६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।

जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए । साप्सुखोला जलविद्युत् आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब रु एक अर्ब ५० करोड खर्चमा सञ्चालनमा ल्याइएको हो ।

राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २।५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत् तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताए ।

उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए ।

राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युत्को काम सम्पन्न भएको जनाइएको छ । विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।

यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशतगरी करीब रु २२ करोडको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । मेवाखोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत् खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताए । “जिल्लामा अहिले २० हजार ७८९ विद्युत् उपभोक्ता रहेका छन्”, उनले भने, “जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०६८ जनगणनाअनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन् । उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत् पुगेको छैन ।

यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत् विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारणलाइनका विद्युत् नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत् खपत भइरहेको छ ।