खेलकुद

प्रथम मेयर कप क्रिकेटमा नवलपुरको विजयी सुरुआत


२१ फागुन, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘प्रथम राष्ट्रिय गैँडाकोट मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’मा नवलपुर क्रिकेट क्लब विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर क्रिकेट क्लब बागलुङ क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर सुरुआती ब्याटिङ रोजेको नवलपुरले १६।४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सफल भयो । नवलपुरको जितका लागि ब्याट्सम्यान कमल परियारले २१ बलमा एक छक्का र चार चौकाको सहायतामा ४८ रन बनाए ।

त्यस्तै नवलपुरका दीपक डुम्रेले २३ रनको योगदान दिएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ बाग्लुङका जगतबहादुर छन्त्यालले तीन ओभरमा २५ रन खर्चिदै पाँच विकेट लिनुभएको आयोजक नवजागर ग्रामीण विकास केन्द्रका सचिव नारायण सापकोटाले जानकारी दिए ।

एक सय ३५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बागलुङ १५ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमै समेटिन पुग्यो । बलिङतर्फ नवलपुर क्रिकेट क्लबका कमल परियारले तीन विकेट लिए। आजको खेलमा नवलपुर क्रिकेट टिमका अलराउण्डर खेलाडी कमल परियार म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजारसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ । सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत नगदसहित कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेल स्वास्थ्यका लागि महत्वपूर्ण भएको भन्दै गाउँगाउँमा खेलकुदको विकास हुनुपर्ने बताए । खेलकुदको विकासका लागि नगरपालिकाले सक्दो काम गरिरहेको भन्दै उनले हरेक वडामा खेलमैदानका साथै गैँडाकोटमा राष्ट्रिय र क्षेत्रीय खेलकुद रङ्गशाला निर्माणको काम अघि बढेको बताए । खेलकुदकै माध्यमबाट खेलाडीले राष्ट्र र आफ्नो नाम उँचो राख्ने गरेका भन्दै नगरप्रमुख पौडेलले खेलाडीले खेलेर बाँच्न सक्ने वातावरण सिर्जना गर्न राज्य लाग्नुपर्ने बताए ।