खेलकुद

सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता आयोजना


१ चैत, काठमाडौँ । नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता आयोजना चैत १०देखि १४ गते सम्म हुने यसअघि नै जानकारी गराइसकेका छ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्रीकपको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।
यसै क्रममा अन्तराष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रतियोगिताका लागि सहकार्य भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको छ ।
सिटिएलका प्रबन्धनिर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको छ । सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ । नेपाली भलिबलको सर्वाधिक धनराशी पुरस्कार रहेको प्रधानमन्त्री कप महिला भलिबलसँग जोडिन पाउँदा सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जनले खुशी व्यक्त गरे ।

क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपालगन्जमा भित्राउन पाउनु उपलब्धिमुलक रहेको बताए । खेलाडीको हस्पिटालिटीदेखि पोशाकसम्म स्तर वृद्धि गर्दै जाने सोंच अनुरुप यसअघि नै पाँच तारे होटल सेन्ट्रल प्लाजासँग खेलाडीको आवास तथा भोजनका लागि सम्झौता भइसकेको छ । नीजि क्षेत्रको सहभागिताबिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको छ ।
नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुनगएको हो ।
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा स्थापित गराउने लक्ष्य राखेको छ । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतको क्लबले सहभागीता जनाउनेछ । आउने दिनमा थप सहभागी टोलीका बारेमा जानकारी गराइनेछ ।
प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।