समाचार

नेपाली सेनाद्वारा सशस्त्रलाई हतियार तथा एम्युनिशन हस्तान्तरण


२७ चैत, काठमाडौँ । जंगी अड्‍डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ईन्सास राइफल नाल पाँचसय र Light Support Weapon नाल-९० गरी पाँचसय ९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्री रक्षा सचिव तथा गृह सचिवको समुपस्थितीमा हस्तान्तरण गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रम संचालन गर्ने प्रयोजनका लागि भनि नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाली सेनाले सहयोग स्वरुपमा ईन्सास राइफल नाल नौहजार र LSW नाल एकहजार ६०० गरी कुल दशहजार ६०० नाल हतियार उपलब्ध गराउने सेनाले भनेको छ । सोही अनुरुप, आज पहिलो चरणमा ईन्सास राइफल नाल पाँचसय र LSW नाल-९० गरी कुल पाँचसय ९० नाल हतियार हस्तान्तरण गरिएको सेनाले स्पष्ट गरेको छ ।
नेपाली सेनाका व्यवस्था, नीति तथा योजना विभागका प्रमुख उपरथी अशोक राज सिग्देलको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, गृह सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका रथीवृन्द, अधिकृत तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
सेनाले बाँकी हतियार तथा एम्युनिशन क्रमशस् हस्तान्तरण गर्ने र यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।