समाचार

वरिष्ठ पत्रकार खरेल रासस सञ्चालक समिति सदस्यमा मनोनीत


२७ चैत, काठमाडौँ । राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्य पदमा मोरङका वरिष्ठ पत्रकार शङ्कर खरेल मनोनित भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही चैत २२ गतेको (मन्त्रिस्तरीय) निर्णयानुसार विराटनगर–३ मोरङका पत्रकार खरेल राससको सञ्चालक सदस्यमा मनोनित भएका हुन् ।

मन्त्रालयले उनलाई रासस ऐन, २०१९ को दफा ८ को उपदफा (१) बमोजिम चार वर्षका लागि सदस्यमा मनोनयन गरेको जनाएको छ । विसं २०४४ मा पुष्पाञ्जली साप्ताहिक र सन्देश दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार खरेल त्यसयता निरन्तर पत्रकारितामा सक्रिय छन् ।

विसं २०४८ मा विमर्श साप्ताहिकमा काम गरेका उनले २०४९ सालदेखि कान्तिपुर दैनिकमा जिल्ला र केन्द्रमा गरी २३ वर्षसम्म निरन्तर पत्रकारिता गरेका थिए । हाल न्यू सृष्टि दैनिकका अध्यक्ष एवं प्रधानसम्पादक रहेका उनी गीत, चलचित्र र समाजसेवामा पनि संलग्न छन् । नेपाल प्रेस युनियका पूर्व केन्द्रीय सदस्य उनी हाल नेपाल पत्रकार महासङ्घ र प्रेस युनियन मोरङका सल्लाहकार छन्।