मनोरञ्जन

जयवागेश्वरीमा हरसिद्धि नाच समापन


२७ चैत, काठमाडौँ । सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व बोकेको हरसिद्धि त्रि–शक्ति भवानीको नाच जयवागेश्वरीमा सम्पन्न भएको छ । काठमाडौँको जयवागेश्वरीमा बाह्र वर्षे हरसिद्धि नाचको आजदेखि विधिवत् रूपमा समापन भएको हो ।

विसं २०६६ पछि यस वर्ष नाच नचाइएको हो । चैत २५ गतेदेखि विधिवत् रूपमा सुरुआत भएको हरसिद्धिको आज दिउँसो बलि दिई क्षमा पूजा गरेपश्चात् समापन भएको जात्राको संयोजनका लागि खटिएका साधुराम महर्जनले बताए। आफ्नै परम्परागत रीतिरिवाजमा रहँदै आएका २९ जना देवगण र सहायकसहितको १०० जनाको टोली हरसिद्धि नाचमा समावेश रहेका थिए । नाच हेर्न उल्लेख्य मात्रामा भक्तजनको आगमन रहेको आयोजक संस्थाले जनाएको छ । 

धर्म, संस्कृति र जात्राप्रति चासो राख्ने जो कोहीले पनि यो जात्राको महत्व र कथावस्तु बुझ्नुपर्ने पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्यले बताए । हरसिद्धिको विशेषताबारे प्रस्ट पार्दै वैद्यले सुनको ढोकाबाट प्रवेश गरेर चाँदीको ढोकाबाट निस्कने रीतिरिवाज रहेको छ । हरसिद्धिको मूर्ति नभई कलशमा देवी स्थापना गरी छायास्वरूप प्रतीक राखिने गरेको पाइन्छ । 

हरसिद्धिमा विभिन्न कथा विषयवस्तुमा आधारित (नट) सङ्गीतसहितको नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको देवगणले बताएका छन् ।  हरसिद्धिको नाच २०१८ पछि २०६६ सालमा भएको थियो । हरसिद्धि यसअघि धुलिखेल र दोलखामा गइसकेको छ । जयवागेश्वरीपछि अब चैत २८ गतेदेखि पनौती जाने धनबहादुर महर्जनले बताए । हरसिद्धिलाई पञ्चबलि दिँदा हाँस, बोका, राँगा, माछा र भेडा मात्रै चढाउने प्रचलन रहिआएको छ ।