प्रदेश 1

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै


३० चैत, मङ्गलबारे । नयाँ वर्षका अवसरमा इलाममा आज माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज हुँदैछ । सूर्योदय नगरपालिकामा पहिलो पटक माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज हुने भएको हो । ११ किलोमिटर दूरीमा हुने प्रतिस्पर्धाका विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजारसहित ट्रफी पाउनेछन् ।

प्रतिस्पर्धामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न सक्नेछन् । प्रतियोगितामा इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका ५० जनाभन्दा बढीको सहभागिता रहने आयोजकका अध्यक्ष शरण फागोले बताए। उनका अनुसार फिक्कल चोकबजारबाट सुरु हुने प्रतियोगिता नयाँ चोक–केराबारी–आले– शहीद चोक– १० नं वडा कार्यालय– फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ । प्रतियोगितामा सहभागी हुने ज्येष्ठ सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

‘स्वास्थ्यका लागि साइक्लिङ प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न पनि प्रतियोगिता सञ्चालन गरिएको हो । युवाहरूलाई साइक्लिङमा आकर्षित गर्न सकियो भने कसरत बढ्ने अनि व्यस्ता हुँदा कुलतमा फस्ने सम्भावनासमेत घट्ने बताइएको छ । पहिलो पटक हुन लागेको प्रतियोगिता सफल बनाउन स्थानीयवासीले आयोजकलाई सहयोग गर्दैछन् । 

प्रतिस्पर्धीका लागि ट्रफी, मेडल स्थानीय मानबहादुर प्रधानले आफ्नो स्व छोरा विशाल प्रधानको स्मृतिमा प्रदान गरेका हुन् । त्यस्तै पुरस्कारहरूका लागि पनि स्थानीयवासीले सहयोग गरिरहेको आयोजकले जानकारी गराएको छ । 

यस्ता प्रतियोगिताले पर्यटकहरुलाई आकर्षक थप्ने र पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा राखिएको छ । प्रतियोगिताले खस्केको पर्यटनलाई उकास्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।