पर्यटन/संस्कृति

परम्परागत पोसाकको संरक्षणमा जोड


१ वैशाख, काठमाडौं । पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ ।
नेपाली पोसाकको संरक्षणमा आवाज उठाउँदै आएको नेपाल संस्कृति संरक्षण समाजले विगत केही वर्ष अघिदेखि गुन्युचोलीको संरक्षण, सम्बर्धन र प्रयोगमा निरन्तर जोड दिँदै आएको छ ।
यसैबिच आज प्रज्ञा भवन कमलादीमा आयोजित ‘समपरिधानको महत्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठीमा राष्ट्रिय महत्वका कार्यक्रमहरुमा परम्परागत नेपाली पोसाकको पहिरनलाई अनिवार्य गरिनुपर्ने वक्ताहरुले औंल्याएका छन ।
नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा सम्पन्न विचार–गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्यायलगायतले परम्परागत पोसाकको संरक्षण र पहिरनलाई जोगाउन सार्वजनिक समारोहमा नेपाली पोसाक अनिवार्य गराउनेतर्फ सबैले आवाज उठाउनुपर्ने बताएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. लोकनाथ दुलालले समपरिधानको महत्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्थाका बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए भने प्रा.डा. सावित्री मल्ल कक्षपती र प्रा.डा. मदन कुमार रिमालले अवधारणापत्र माथि टिप्पणी गरेका थिए ।
हरेक वर्षको वैशाख १ गते नेपाली पोशाकको संरक्षण र प्रवर्धन सम्बन्धि नियमित कार्यक्रम गर्दै आएको नेपाल संस्कृति संरक्षण समाजका अध्यक्ष लक्ष्मी ओझा भद्राले विचार गोष्ठी आयोजनाको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल संस्कृति संरक्षण समाजद्वारा प्रकाशित ‘गुन्युचोली’ र राधा कार्कीद्वारा लिखित ‘शाश्वत आकृति’ नामक पुस्तकको लोकार्पण समेत गरिएको छ ।