प्रदेश 1

फाल्गुनन्द सडकको कामले गति लिँदै


३ वैशाख, दमक । दमकबाट पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका ग्रामीण बस्तीलाई जोड्ने छोटो दूरीको दमक–चिसोपानी (रवि) फाल्गुनन्द सडकको कामले गति लिएको छ ।

दमकबाट सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रविबजार जोड्ने ४७ किलोमिटर लामो उक्त सडकको केही भागमा अहिले धमाधम स्तरोन्नतिको काम हुँदै आएपछि अब सडकको कामले गति पाउने भएको हो ।

वर्षौँदेखि सडकको समस्या झेल्दै आएका स्थानीयवासीले सडक स्तरोन्तिको कार्य पूरा भएपछि अब भने आवागमनमा सहज हुने इलाम बाँझोका विशाल राईले बताए । उनले भने, “वर्षौँदेखिको समस्या अब समाधान हुने भएको छ, इलाम र पाँचथर जिल्लाका बासिन्दाले पाउँदै आएको सास्ती अब हटेर जानेमा विश्वस्त छौँ ।”

सडक बनेपछि पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दसँगै इलामको माङ्सेबुङ, फाकफोकथुम र चुलाचुली गाउँपालिकाबासीले प्रत्यक्ष लाभ लिन थालेका छन् । सडक पूरा हुनासाथ यस क्षेत्रका बासिन्दा बिरामी पर्दा झापा लैजान र वर्षायाममा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने इलाम फाकफोकथुम–३ का गणेश रेग्मी बताउँछन् ।

सडक निर्माणले हालसम्म ट्रयाक खोल्ने र पूल नभएका स्थानमा पुल, नाली र ग्रेडिङको काम अन्तिम चरणमा भइहेको उपभोक्ता समितिका अध्यक्ष रेवतराज (गगन) पुरीले बताए । उनले भने, “अब खोलाको बाटो हिँड्नुपर्ने बाध्यता अन्त्य भइसकेको छ, थप निर्माणकार्यलाई गुणस्तर बनाउँदै अघि बढ्नेछौँ । निमाण सम्झौता अवधि अगावै सम्पन्न गर्ने र आगामी फागुनसम्ममा दमकबाट चिसोपानीसम्म नै कालोपत्र गरिसक्ने गरी काममा लागेका छौँ, अहिले कालोपत्रको पूर्वतयारीको काम धमाधम भइरहेको छ ।”

उनका अनुसार रु दुई अर्ब बढीको योजना रहेको सो सडकको पहिलो चरणमा ६ दशमलव २९ किलोमिटर कालोपत्र गर्ने भनिए पनि दुई किलोमिटरमात्रै सम्पन्न भएको छ । रु २२ करोड ५९ लाखको लागतमा पहिलो खण्डमा, दोस्रो खण्डको १५ दशमलव २६ किलोमिटर सडक रु ५४ करोड ४४ लाखमा र तेस्रो खण्डको ११ दशमलव ३० किलोमिटर रु ५९ करोड १५ लाखमा कालोपत्रका लागि ठेक्का भएको थियो । ठेक्का लागेबाहेक १४ किलोमिटर सडक क्षेत्रको भने स्तरोन्नति अन्तिम चरणमा पुगेको र स्तरोन्नतिको काम सकिएलगत्तै कालोपत्रको काम अघि बढ्ने अध्यक्ष पुरीले बताए ।

सडक डिभिजन कार्यालय दमकले यो सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाएका कारण सफलता हासिल गर्न सकेको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। झापाको दमकबाट इलामको चिसोपानीसम्म पुग्ने निर्माणाधीन सडकको कामको अनुगमन गर्न पुगेका उनले निर्माणाधीन सडकको कामलाई सहजताका लागि तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको बताए । निर्माणाधीन सडकको योजनाअनुसार काम नभएको र गुणस्तरीय सामग्री प्रयोग नगरेको स्थानीय जनगुनासो आएपछि सडक डिभिजन कार्यालय दमकको टोली, राजनीतिक दलका प्रतिनिधि, पत्रकार र उपभोक्तासहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।