समाचार

गठबन्धनको विचारबिहीन स्वार्थको रोटी कहिलेसम्म ??

प्रकाश तिरुवा / समाजमा एउटा सशक्त सोसल इन्जिनियर जन्माउने बैधानिक आधारशिला नै निर्बाचन हो। निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। जनताको अभिमतका आधारमा एजेण्डाको अनुमोदन नै निर्वाचनको मुख्य काम हो। निर्वाचनलाई राजनीतिक दलले आफ्नो प्रभाव मूल्यांकन गर्ने एउटा माध्यम हो। लोकतान्त्रिक व्यवस्थामा जनताको प्रत्यक्ष सहभागितामा शासकिय अभ्यास जिवन्त हुन्छ। निर्वाचनले मतदाता र राजनीतिक दललाई एक आपसमा जोड्ने काम गर्दछ। निर्वाचन लोकतन्त्रको उनयनको लागि एउटा साध्य नै हो जहाँ सर्वव्यापी स्वतन्त्रताका आधारमा बालिका मताधिकार सहितको अभ्यास गरि व्यवस्था परिवर्तन र परिवर्तित व्यवस्थाको स्थायित्व कायम गर्दछ।
चुनाब अनुमोदन हुने बैधानिक आधार हो भन्ने कुरा सर्वव्यापी नै छ। चुनाब नितान्त आफ्ना एजेण्डा, बिचार र भविष्य परक मार्गका आधारमा जनतामा गएन अनुमोदन हुने एउटा माध्यम हो। राजनीतिक दलको जन्म नै बिचार र सिद्धान्तमा आधारित रहेर भएको हुन्छ। आफ्नो पार्टीको विधान र कार्यसम्पादन नियमावलीका आधारमा पार्टीका गतिविधि सञ्चालन हुन्छ।
पार्टीका गतिविधि सञ्चालन गर्ने आधारशिला नै विधान हो भन्ने कुरा सायत गठबन्धनमा आबद्ध दलहरुलाई अवगत भएकै कुरा हो। तर यहाँ कसैको साग जोगाउन, कसैको पद सुरक्षित गर्नका लागि फरक विचार, फरक सिद्धान्त र फरक मार्ग भएका दल बिच अपवित्र गठबन्धन त्यो पनि केन्द्रबाट लादिएको कतिको लोकतान्त्रिक व्यवस्था होला ???
जहाँ सम्म हामिले अबलम्बन गरेको सरकार सञ्चालनको अभ्यास छ, त्यसकै आधारमा तालमेल गर्न खारिएको हो भने यसले दिर्घकालिन रुपमा नै गठबन्धनमा आबद्ध दललाई क्षति हुनेवाला छ। दलिय प्रणाली माथि नै हमला हुने निश्चित प्रायः छ।
दलिय प्रणाली आफ्नो प्रभाव कायम गरी आफ्ना एजेण्डाका आधारमा राजकाज संचालन गर्ने एउटा माध्यम हो। सामाजिक मामलाको पहिचान, वर्गिकरण र समाधानका लागि दलिय प्रणालीको अहम भूमिका हुन्छ। दलगत एजेण्डा र कार्यप्रकृति फरक-फरक हुन्छ। यही फरक भएका कारण राजनीतिक दलबीच फरकपना हुन्छ। फरकपनाका बिच गठबन्धन गर्न खोज्नु दलिय प्रणाली माथि नै हमला गर्नु हो।
गठबन्धन कसका लागि ?
यदि गठबन्धन देश, जनताका लागि हो भने ठिकै हो तर यहाँ गठबन्धन पुरै स्वार्थको प्याकेजका रुपमा स्वीकार गरिएको विषय हो। गठबन्धन समस्याको समाधान होइन भन्ने कुरा स्वीकार गरिनुपर्छ। गठबन्धनमा आबद्ध दलले यसको स्वामित्व लिने र दिने कुराले पनि यसको प्रभाव मूल्यांकन गर्दछ।
केन्द्रले गरेको निर्णय स्थानिय स्तरमा कतिसम्म कार्यान्वयनमा पुग्छ यो पनि एउटा अनुत्तरित कुरा हो। सकस भित्रको गठबन्धन कसरी सफल होला ? लोकतन्त्रको मर्म माथि नै प्रहार हो चुनाबि गठबन्धन। लोकतन्त्रको उनयनको लागि भएपनि सत्ता साझेदार दलहरु फरक-फरक प्रतिस्पर्धामा सहभागी हुनुपर्छ। आफ्नो प्रभाव मुल्याङ्कन गर्नलाई भएपनि गठबन्धन नगरी चुनाबमा सामेल हुँदा हितकारी हुनेछ।
गठबन्धन प्रतिउत्पादक हुने सम्भावना कतिको देखीन्छ ?
पहिलेका चुनावि तालमेललाई अध्यन गर्ने हो भने एकाध बाहेक अधिकांश तालमेलमा आधारमा सहभागि भएको निर्वाचनमा सफलता मिलेको छैन। गठबन्धनमा आबद्ध दल मध्ये कांग्रेसमा आन्तरिक रोग नै छ आफ्नै उम्मेदवारलाई घात गर्ने परिपाटी अनि कसरी फरक दल, फरक उम्मेदवारलाई सहयोग होला ?
यसै गरि गठबन्धनमा आबद्ध अर्को दल माओवादी र कांग्रेस बीच सैद्धान्तिक असहमति र विगतको तिरस्कार देखीन्छ। जसले गर्दा कांग्रेस र माओवादी बीचको तालमेल हुँदा नतिजा सोचेको भन्दा फरक आउँछ।
गठबन्धनमा आबद्ध दल मध्ये एकिकृत समाजवादी आफै संगठन विस्तार र पार्टी निर्माणमा नै रुमलिएको छ। समाजवादीको रणनीति नै तालमेलमा आधारमा नै स्थापित हुने मुख्य मार्ग हो। विचार र सिद्धान्तका हिसावले माओवादी र समाजवादीको तालमेल हुन सकेमा केही सन्तोषजनक नतिजा आउँन सक्छ।
चुनाबि तालमेल समस्याको समाधान होइन र हुनपनि सक्दैन। यो त अस्तित्व बचाउने र स्वार्थको रोटी सेक्ने एउटा वस्तु बन्ने कुरामा दुईमत छैन। कांग्रेस र कम्युनिष्टबीच सिद्धान्त, विचारधारा र विधानमा उल्लेख भएको व्यवस्था बीच कुनै तालमेल देखिदैन। जहाँसम्म कांग्रेस भित्र संस्थापन पक्षले तालमेललाई प्राथमिकता दिएको छ। यो पूर्ववर्ती सरकारले सृजना गरेको वातावरण र त्यसपछि कांग्रेसलाई सरकारमा सहभागी हुने वातावरण निर्माण नै देखिन्छ। तर त्यो परिस्थितिको परिस्थितिजन्य अवतरण थियो। त्यसैले सत्ता गठबन्धन समयको माग र तत्कालिन समयको समस्या समाधान थियो भनेर भन्न सकिन्छ।
मूलतः तालमेलको दिर्घायु कहिलेसम्म भन्ने कुरा अनुत्तरित नै छ। यो लोकतान्त्रिक व्यवस्थामा लागि न अवसरवादको पहिचान र दिर्घकालिन रुपमा यसले समग्र दलिय प्रणाली माथि नै विकृत रुप धारण गर्ने कुरामा दुईमत छैन।
कांग्रेसका लागि गठबन्धन हानिकारक नै छ। अनुकुल वातावरणमा पनि कसैलाई संरक्षण गर्नका लागि भएपनि आफ्नो अनुकुलतालाई प्रतिकुलतामा मार्ग सिद्ध गराउन मरिहत्ते गर्ने नेतृत्व नै दुर्भाग्य हो। पूर्ववर्ती सरकारले गरेका काम, उसले गरेका कामको बण्डाफोर गरेर नयाँ संकल्प सहित निर्वाचनमा केन्द्रित हुने बेला गठबन्धनमा नै रुमलिनु कांग्रेसका लागि एउटा अभिसाप हुनेछ।
कांग्रेसले निर्बाचन परिचालनका नाममा गरेको काम भनेको नै स्थानिय तह निर्वाचन परिचालन र प्रचार-प्रसार समितिको गठन त्यो पनि नेताको खल्तीबाट टिपोट हो। यसरी लोकतान्त्रिक विचारधारालाई आत्मसात गरेको पार्टीका लागि दुखत छ।
समयमा नै कांग्रेसले चुनावि तालमेलबाट अलग हुन सकेमा आम कांग्रेसका लागि र समग्र मुलुकको समुन्नतिका लागि अनुकुल नै हुनेछ। यसले एकातिर दलिय प्रणालीको महिमा बढ्छ भने अर्कातिर कांग्रेसको बिचारधाराको सार्थक मापन हुन्छ।