मनोरञ्जन

कलाकार सुरजवीरको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण


१८ वैशाख, काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘जन्मदिनको शुभकामना गीत’को भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज लोकार्पण गरे ।
सञ्चारकर्मी तथा कलाकार सुरजवीर बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मङ्गल धूनमा गाइएको छ । यसको सङ्गीत संयोजन जुगल डङ्गोलले गरेका छन् ।
जन्म दिनमा शुभेच्छा तथा शुभकामना आदानप्रदानमा हाबी हुँदै गएको वाह्य संस्कृति र त्यसको दुष्प्रभाव रोक्न शुरुमा नेपाल भाषा र अहिले नेपाली भाषामा शुभकामना गीत रचेर जनतासामु ल्याएको कलाकार बज्राचार्यले बताए ।
चार वर्षअघि नेपाल भाषामा स्वराङ्कन गरिएको उक्त गीत नेवाः समुदायमा लोकप्रिय छ । बज्राचार्य नेवाः पत्रकारहरुको सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष पनि छन् ।