खेलकुद

नारायणप्रसाद स्मृति बास्केटबल बुधबारदेखि


२० वैशाख, काठमाडौँ । क्वेस्ट इन्टरनेसनल कलेजले आफ्ना संस्थापक निर्देशक नारायणप्रसाद श्रेष्ठको स्मृतिमा पाँचौँ ‘नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता’ बुधवारदेखि सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ नौ र महिलामा पाँच टोलीको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पुरुष सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट छन् । महिला स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् । महिलातर्फ क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायमको सहभागिता रहने छ ।

पुरुष विधाको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार तथा महिलातर्फ पहिलो हुनेले रु ३० हजार र दोश्रोले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब रु पाँच लाख खर्च हुने क्वेस्टका निर्देशक आदर्श जोशीले जानकारी दिए । यही वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ ।