खेलकुद

एसीसी यू-१९ : लगातार तेस्रो जित दर्ता गर्दै नेपाल क्वाटर फाइनलमा

L३० असार, काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

तेस्रो जित सहित नेपाल क्वाटर फाइनल प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान भएको खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित दर्ता गरेको हो।

वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रन बनाएको थियो।

नेपालले दिएको २१२ रनको विजयी लक्ष्य पछाएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३० रन मात्रै जोड्न सक्यो।

हङकङको लागि वोङ विङ क्यू हेलीले १३ रन जोडिन्। त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालको लागि बलिङतर्फ सोनी पाख्रिनले सर्वाधिक ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट लिँदा कृष्मा गुरुङ र स्नेह महराले १र१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि कप्तान सोनी पाख्रिनले ९० रनको पारी खेलिन्। उनले ६० बलमा १३ चौका र १ छक्का प्रहार गरिन्। ओपनर सावित्री धामीले ५२ रनको अर्धशतकीय पारी खेलिन्। एलिसा कुमारी यादवले २३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

हङकङको लागि बलिङतर्फ निम्रा अरबले २ विकेट लिइन्। वोङ विङ क्यू हेली र आरोज फातिमाले १र१ विकेट लिए। नेपालले पहिलो खेलमा कतारलाई र दोस्रो खेलमा सिङ्गापुरमाथि जित दर्ता गरेको थियो ।