शिक्षा

पराजुलीलाई भाषाविज्ञानमा विद्यावारिधि


२५ वैशाख, काठमाडौँ । पर्वतका कृष्णप्रसाद पराजुलीले फ्रान्सको लियोँस्थित लुमिएख विश्वविद्यालयबाट भाषाविज्ञानअन्तर्गत संज्ञानात्मक भाषाविज्ञान(कग्निटिभ लिङ्ग्विस्टिक्स) मा विद्यावारिधि प्राप्त गरेका छन् । पर्वत बिहादी गाउँपालिका–३, कुँडादीका पराजुलीले आफ्नो अनुसन्धानमा नेपाली भाषाका क्रिया, विशेषगरी गतिबोधक क्रिया (पस्नु, निस्कनु, हिँंड्नु, दौडनु) मा कुनै पनि वक्ताले आफ्नो कुरा कसरी व्यक्त गर्छन् वा अवधारणा राख्छन् भन्ने उल्लेख गरेका छन् ।

नेपाल तारा माध्यमिक विद्यालय पर्वतबाट प्रवेशिका उत्तीर्ण गरी त्रिवि, विश्वविद्यालय क्याम्पस, भाषा विज्ञान केन्द्रीय विभागबाट स्नातकोत्तर(सन् २००१) ५३ वर्षीय पराजुलीका निर्देशकमा प्रा डा अनेता कोपेच्का (लुमिएख विश्वविद्यालय, फ्रान्स) र प्रा डा स्कट डिलान्से(ओरेगन विवि, अमेरिका) थिए। साढे पाँच वर्ष आफ्नो उपाधिका लागि समय लगाएका डा पराजुलीलाई यहाँस्थित फ्रान्सेली राजदूत जिल बुखबाओले  विद्यावारिधिको प्रमाणपत्र शुक्रबार हस्तान्तरण गरे। 


संज्ञानात्मक भाषाविज्ञान(गतिबोधक क्रिया)मा गरिएको यो आफ्नो नेपालकै पहिलो र दक्षिण एशियामा दोस्रो अध्ययन भएको डा पराजुलीले जिकिर गरे । यसअघि भारतका भुवना नरसिंहनले यस विधामा अङ्ग्रेजी र हिन्दीको तुलनात्मक अध्ययन गरेको उनको भनाइ छ । “मेरो यो अनुसन्धानले नेपालमा बोलिने लोपोन्मुख र अन्य भाषाका क्षेत्रमा पनि प्रकारात्मक अध्ययनका लागि बाटो खुलाएको छ”, ‘मोसन इभेन्ट्स इन नेपाली’ मा विद्यावारिधि गरेका डा पराजुलीले भने।