उर्जा

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट


२६ वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । उनले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरिन्।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।” 

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताइन् । उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लागेको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताइन्।