समाचार

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु


३१ वैशाख, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ ।मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उनका अनुसार हेटौँडाको चार  वडाको मतगणना एकैपटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् । मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ । 

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए । 

निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६  मतदान केन्द्र/उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए।