प्रदेश 2

रामगोपालपुर नगरपालिकामा एमाले विजयी


४ जेठ, महोत्तरी । लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन् ।

प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गरेका रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिए । त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गरेका र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गरेकी रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका जिल्लामा सबै पदको मतगणना परिणाम घोषणा भएको यो पहिलो हो । अब धमाधम परिणाम घोषणा गर्ने चरणमा पुग्न लागिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाभरिमा आठवटा वडाध्यक्ष र १०० मुनि वडा सदस्यमा मात्र जित हात पारेको थियो ।