प्रदेश 2

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी


४ जेठ, जनकपुर । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ ।

एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने धनुषाको कुनै पनि पालिकाको प्रमुख–उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक स्थानीय तहमा अग्रता बनाएका छन् ।

जारी मतगणना परिणामअनुसार धनुषाको धनुषाधाम, मिथिला, नगराइन नगरपालिका, हंशपुर र बटेश्वर गाउँपालिकामा कांग्रेसले अग्रता बनाएको कांग्रेसले धनौजी र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितिसकेको छ । यस्तै धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको एमालेले क्षीरेश्वरनाथ, मिथिला विहारी नगरपालिकामा अग्रता लिएको छ ।

कांग्रेसको बिरासत भत्काउँदै जनकनन्दनी गाउँपालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले सहिदनगर, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा अग्रता कायम गरेको छ । धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डलले एक हजार ७२३ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका योगकुमार यादवले एक हजार ४८० मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिए ।

मिथिला नगरपालिकामा चार हजार ४५० मतका साथ कांग्रेसका महेन्द्र महतोले अग्रता कायम गरेका छन् भने एमालेका राजाराम महतोले तीन हजार ५९५ मतका उनलाई पछ्याइरहेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनयकुमार यादवले दुई हजार १८८ मतका साथ अग्रता कायम गरेका छन् भने एमालेका रामबाबु पंजियारले एक हजार ४७६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो दुई हजार ४५८ मतका साथ अग्रता लिएका छन् भने एमालेका श्यामसुन्दर महतोले एक हजार ३८८ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । हंशपुर गाउँपालिकामा कांग्रेसका प्रदीपकुमार यादवले एक हजार १३१ मतका साथ अग्रता लिएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका रामज्ञान मण्डलले ५५४ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

मिथिला विहारी नगरपालिकामा एमालेका अनिलकुमार यादवले एक हजार ३०७ मतका साथ अग्रता बनाएका छन् भने माओवादी केन्द्रका सूर्यनारायण मण्डलले एक हजार ७ मतका साथ उनलाई पछ्याइरहेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका दिनेशप्रसाद यादवले चार हजार ९७३ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका सुधीरकुमार गोइत दुई हजार ९३९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिए।

त्यहाँ निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार उदयकुमार यादवले दुई हजार ८४२ मतका साथ तेस्रो स्थानमा छन् । कमला नगरपालिकामा जनता समाजवादी पार्टीका पशुपति यादवले दुई हजार १०४ मतका साथ अग्रता लिएका छन् भने कांग्रेसका विशेश्वर यादवले एक हजार ७६३ मतका साथ दोस्रो स्थानमा छन् ।

मुलुककै सबैभन्दा होचो ठाउँका रूपमा परिचित धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपाका जयकुमार यादवले दुई हजार ६३९ मतका साथ अग्रता बनाउँदा कांग्रेसका रामबाबु यादव एक हजार ५५६ मतका साथ उनलाई पछ्याइरहेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले एक हजार २९२ मतका साथ अग्रता लिँदा राप्रपाका जकसन हमाल ठकुरीले एक हजार २०८ मतका साथ उहाँलाई पछ्याइरहेका छन् ।

मतगणनाका क्रममा धनुषाका अधिकांश स्थानीय तहमा कमजोर देखिएको लोसपाले सबैला नगरपालिकामा भने अग्रता कायम गरेको छ । त्यहाँ लोसपाका रामचन्द्रप्रसाद जैसवालले एक हजार ८०५ मतका साथ अग्रता लिएका छन् भने माओवादी केन्द्रका कारीराम यादवले एक हजार ७०७ मतका साथ पछ्याइरहेका छन् ।