प्रदेश 2

धनुषाको कमला नगरपालिकामा कांग्रेस, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपा


५ जेठ, जनकपुर । धनुषाको कमला नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएका छन् । विशेश्वरले तीन हजार ८८७ तथा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा तीन हजार ८८७ मतसहित कांग्रेसका शिलादेवी मण्डल विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गरिन् ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका जयकुमार यादव र उपाध्यक्षमा सैदा खातुन निर्वाचित भएको निर्वाचन अधिकृत निरज पोखरेलले जानकारी दिए। अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ४१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबाबु यादवले दुई हजार ४५५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा खातुनले चार हजार ४१४ मत ल्याएर निर्वाचित हुदाँ कांग्रेसकी अनिता कुमारीले तीन हजार १५२ मतमा प्राप्त गरिन्।