अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै


६ जेठ, सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा त्यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ ।

त्यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो । त्यहाँ बिहीबार २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ । त्यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन् ।

बुधबार मात्र त्यहाँ २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । त्यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि त्यहाँ कम रहेको छ ।