समाचार

पोखरा महानगर प्रमुखमा गठबन्धनका आचार्यको अग्रता कायमै, पछ्याउदै एमालेका थापा


९ जेठ, गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका हुन् । 

उपप्रमुखमा  एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याएकी छिन् । महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा  कांग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । महानगरको वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।