उर्जा

विद्युत् ट्रान्सफर्मर चोरी

१८ जेठ, चन्द्रौटा । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ मा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएको छ । बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो । गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि मङ्गलबार राति डगरमरवा गाउँमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ ।

हप्ता दिनमै बोरिङ सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरू चिन्तित भएका छन् । चोरी भएको जानकारी आए पनि कसले चोरेको विषयमा अनुसन्धान भइरहेको विद्युत् प्राविधिकरण कृष्णनगरका प्रमुख करम आलम खाँले बताए । ट्रान्सफर्मर चोरी सम्बन्धमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जले रातिको समयमा गस्ती गरिरहेको प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले बताए ।