प्रदेश 2

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ


८ असार, वीरगञ्ज । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पर्साको वीरगञ्जस्थित नापी कार्यालयमा बिचौलियाको काम गर्ने एक जनालाई प्रहरीले रु एक लाख २५ हजार रकमसहित पक्राउ गरेको छ । निजामती कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएको आरोपमा वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंकभित्रबाट सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।