प्रवास

क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

११ असार, डिसी महानगर क्षेत्र । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन भएको छ । उनको निधनले सबैलाई आश्चर्य तुल्याउनुको साथै नेपाली समुदायहरु स्तब्ध भएका छन् ।

उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता ,पूर्वपर्यटन दुत,कलाकार अनिल पाण्डे तथा रिना पाण्डेकी एक मात्र सुपुत्री हुन् । उनको निधन गत बिहिबार जुन २३ ,२०२२ का दिन क्यालिफोर्निया राज्यको स्थानीय समय अनुसार करिव साँझ ६ बजे भएको हो ।

२९ बर्षिय मनसुन पाण्डेको जन्म १९९३ मा मे ६ का दिन भएको थियो ।

मनसुनको दुखद समाचार थाहा पाउन साथ आफन्त ,साथीभाई ,इष्टमित्र सबैले सामाजिक संजालमा जताततै समवेदना दिई रहेका छन् भने समवेदना आउने क्रम जारी रहेको छ ।

अकल्पनिय क्षति तथा दुखद खबरले सबै नेपालीलाई मर्महात बनाएको छ भने पिता अनिल पाण्डेलाई चिन्ने सबैले सन्देश दिई रहेका छन् । पिता अनिल पाण्डेका शुभ चिन्तक तथा नजिकका साथीभाईहरुका अनुसार स्व मनसुनले सूचना प्रविधि (आई टी)अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पलमा समेत काम गरेकी थिइन् । तर केही समय अगाडी उनले काम पनि छोडेकी थिइन् ।

उनि केही समय अगाडी युरोप यात्रामा समेत गएर अमेरिका फर्केकी थिइन् । पिता स्वयम कलाकार र क्यालिफोर्नियाको बे एरिया (क्षेत्र)अत्यन्तै क्रियाशील भएको कारण सुपुत्री पनि बाबुलाई साथ दिदै विभिन्न कार्यक्रममा सहभागी हुन्थिन । पिता अनिल पाण्डेले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न सन् २०११ मा आयोजना गरेको नेपाल दिवसमा समेत मनसुनले सक्रिय रुपमा भाग लिएकी थिइन् । उनका थुप्रै अङ्किय दृश्य(भिडियो)हरु पिताले सुरक्षित राखेका छन् ।