बाग्मती

व्यावसायिक करसमान गर्न आग्रह

२० असार, काठमाण्डौ । नेपाल व्यापार सङ्घले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ ।सङ्घले आइतबार साँझ यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधैँ साथ र समर्थन रहने बताए । “जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ”, उनले भने ।

अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामी जनताको शासक होइनौँ, सेवक बन्न चाहन्छौँ”, उनले भने ।

उनले व्यवसायीका समस्या समाधानका लागि बेलाबेलामा जनप्रतिनिधिलाई खबरदारी गर्नसमेत आग्रह गरे । न्यूरोड क्षेत्रको पार्किङको समस्या समाधानका लागि वडा कार्यालय लागिरहेको उनको भनाइ थियो । काठमाडौँ महानगरपालिका–२५ का वडाध्यक्ष राजेश डङ्गोलले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने बताए । व्यवसायीको इच्छा र चाहनाअनुसार आफूहरुले सेवा प्रदान गर्ने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२७ का वडाध्यक्ष योगेशकुमार खड्गीले आफूहरुले कार्यपालिका बैठकमा काठमाडौँको पार्किङ, घरभाडालगायतका व्यवसायीको समस्याको बारेमा आवाज उठाइसकेको बताए । उनले  बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सिसिटिभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गरे ।

सङ्घका अध्यक्ष कुमार कार्कीले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको जनाउँदै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गरे ।

उनले मल्लकालीन व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा पार्किङको ठूलो समस्या रहेको भन्दै पार्किङलाई व्यवस्थित गर्नुपर्ने, पार्किङ शुल्क घटाउनुपर्ने, व्यावसायिक कर सबै वडामा समान गर्नुपर्नेलगायतका माग राखे ।

सङ्घका संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, उपाध्यक्ष गिरिराज पोखरेल, महासचिव कृष्ण अधिकारीलगायतले न्यूरोड क्षेत्रको समस्या समाधानका लागि व्यवसायी र स्थानीय सरकार मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । वि.सं २०४७ मा स्थापना भएको  सङ्घमा दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।