कृषि

विर्तामोड नगरपालिकाद्वारा माछा फार्मको अनुगमन

२० असार, बानियानी । झापाको विर्तामोड नगरपालिकाले माछा फार्मको अनुगमन गरेको छ । नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतबार नगरका विभिन्न वडामा रहेका माछा फार्मको अनुगमन गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सशर्त अनुदान पाएको नगरपालिकाले क्षेत्र विस्तार, पोखरी मर्मत र यान्त्रीकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम सञ्चालन गरेको छ ।

क्षेत्र विस्तारका लागि प्रति कठ्ठा रू १० हजार, पोखरी मर्मतका लागि प्रतिकठ्ठा रू तीन हजार ३००, यान्त्रिकरणका लागि लागत साझेदारीमा ५० प्रतिशत र सिँचाइमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको नगरको कृषि पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल जानकारी दिए ।

नगरपालिकाबाट अनुदान प्राप्त शुभलक्ष्मी कृषि फार्म बिर्तामोड–२, स्टार अर्गानिक कृषि फार्म बिर्तामोड–७, कलामाया कृषि फार्म बिर्तामोड–७, मा लक्ष्मी कृषि फार्म बिर्तामोड–७ र केशव कृषि फार्म बिर्तामोड–१० को अनुगमन गरिएको हो ।