गण्डकी प्रदेश

‘दु्रत परिवर्तित संसारमा व्यक्तिगत रूपान्तरण’

२१ असार, गण्डकी । पोखरा विश्वविद्यालयको रजत जयन्तीका अवसरमा ‘दु्रत परिवर्तित संसारमा व्यक्तिगत रूपान्तरण’ विषयक प्रशिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आयोजित कार्यक्रमको प्रमुख प्रशिक्षकमा आध्यात्मिक चिन्तिकद्वय डा. चिन्तामणि नाथ योगी तथा प्रा. डा. विशाल सिटौला थिए ।

सो अवसरमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालले व्यक्तिगत तथा सामाजिक रूपान्तरणका लागि व्यक्तिमा चिन्तन, मनन हुनुपर्नेमा जोड दिए । रूपान्तरणका लागि मन छुनुपर्ने उल्लेख गर्दै उनले प्राज्ञिक थलोमा मैले के गर्दैछु भन्ने कुरा बुझेर मात्र अगाडि बढ्न सबैलाई आग्रह गरे ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारीले जीवनोपयोगी कुरालाई समयमा नै सिक्नुपर्ने बताउँदै व्यक्तिले समयानुसार सोचाइमा परिवर्तन गर्दै ज्ञानलाई अद्यावधिक गर्दै जानुपर्नेमा जोड दिए । व्यक्तिगत कमी–कमजोरी, गुण–अवगुण सबैमा हुने तर तिनको समयमै पहिचान गरी अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रमका प्रमुख प्रशिक्षक डा. योगीले पोखरा विश्वविद्यालयमा सबैको अपनत्व रहेको उल्लेख गर्दै यहाँ सबैको सिर्जना, साधना र आत्मियता रहेको बताए । उनले यहाँ बोलिने र लेखिने कुराको गहिरो महत्व रहेको जनाउँदै विश्वविद्यालय सुधार्न सबै सकारात्मक हुनुपर्ने आवश्यकता औँल्याए ।

डा योगीले व्यक्तिले आफ्नो जीवनको नक्सा आफैँ बनाउने हो भन्दै यसो गर्न नसके उसमा परिवर्तन हुनै नसक्ने बताए । सुन्दर मानव जीवनलाई खुम्चाएर नभई फुकाएर, बेखुसी भएर नभई खुसी भएर, हारेर नभई जितेर जिउनुपर्ने उनको तर्क थियो ।

अर्का प्रशिक्षक प्रा. डा. सिटौलाले पोखरा विश्वकै सुन्दर पर्यटकीय सहर भएको र यसको भ्रमणका लागि युरोपियनहरू सपना देख्ने गरेको उल्लेख गरे । व्यक्तिगत रूपान्तरणबिना समाज र देश नबन्ने भन्दै उनले मानिसले आफ्नो बानी, आदत बदल्नुपर्ने बताए । परिवर्तनका लागि मानिसमा जागरूकता, करूणा, सहानुभूति, सेवाभाव, असल नियत र इच्छाशक्तिजस्ता गुणहरू आवश्यक रहेको उनको भनाइ छ ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह प्रा. डा. दीपकराज पौडेल तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामीले व्यक्तिगत रूपान्तरणको महत्वका बारेमा प्रकाश पारेका थिए।