लुम्बिनी

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

२३ असार, तुलसीपुर । दाङका आठवटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।

साथै अब असार महिनाभित्रै घोराही उपमहानगरपालिका, बबई गाउँपालिकालाई घोषणा गर्ने तयारी रहेको शाहीले बताए । “हामीले जिल्लाका १० पालिकामध्ये आठ पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका छौँ”, उनले भने, “अब बाँकी तीन पालिकामध्ये घोराही र बबईलाई यही महिनाभित्र पूर्ण सुनिश्चित घोषणा गरिसक्छौँ ।”  

१४ प्रकारका रोगका विरुद्धका लड्नका लागि सात प्रकारका खोप बालबालिकालाई दिइन्छ । पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । अहिले जिल्लाका बबई गाउँपालिकाबाहेक नौ पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा रहेको छ ।  

तुलसीपुर उपमहानगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको र अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिले तथ्यगत विवरण प्रमाणीकरणसँगै तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रुपमा घोषणा गरेको हो ।