प्रदेश 1

नोबेलको एम्बुलेन्स क्याम्पबाट १५ दिनमा १२ हजार विरामीको निःशुल्क उपचार

२८ असार, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
१९४४ जनाको मुटुको जाँच इसीजी, २१२० जनाको रक्त परीक्षण र २१६२ जनाको भिडियो एक्सरे गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सो अवधिमा ५२६ जनाको दाँत उखेलिएको छ । यता, ७८६६ विरामीलाई नोबेल अस्पताल ल्याइ उपचार गरिएको छ । जसमध्ये ११६२ जनाको जटिल तथा सामान्य अप्रेशन गरिएको प्रवन्धक दाहालले बताए ।
नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले सो क्षेत्रमा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउँन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।
शनिवारबाहेक हरेक दिन दुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यहीं गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका विरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउँने व्यवस्था पनि मिलाइएको छ ।