कर्णाली प्रदेश

हुम्लाका खेलाडीलाई खेल सामग्री सहयोग

३० असार, सिमकोट । हुम्लामा फुटबल सिक्दै आएका खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले फुटबल खेलाडीलाई खेल सामग्री सहयोग गरेका हुन्।

महर्जनले हुम्ला आएर खेल सामग्री हस्तान्तरण गरेका हुन् । उनले २१ खेलाडीलाई जर्सी, १७ थान फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चारवटा पोल सहयोग गरेका हुम्ला फुटबल ऐकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए । सिमकोट तल्लो बजारस्थित  सिमसार क्षेत्रको धुलाम्मे मैदानमा खेलाडी विनाजर्सी अभ्यास गर्दैआएका थिए ।  

यस्तै गोल नेपालले उपलब्ध गराएको फुटबल सामग्री पनि खेलाडीलाई वितरण गरिएको छ । हाल जिल्लाका १३ वर्षभन्दा कम उमेरका खेलाडीले फुटबल प्रशिक्षण लिइरहेका छन् । हुम्ला फुटबल एकेडेमीले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरेको हो ।