प्रदेश 1

मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा

३२ असार, बनियानी । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए ।

स्थापनाताका सन् १९९६ मा ८१३ जनाले सेवा पाएकामा सन् २०२२ को हालसम्ममा ८३ हजार ९८९ जनाले सेवा लिइसकेका छन् । सोही अवधिमा तीन लाख ३४ हजार ७०८ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने दुई लाख २५ हजार ७५८ वटा आँखा शिविर सञ्चालन गरिएको छ । सो शिविरअन्तर्गत २६ हजार बढीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क औषधि र चश्मा पनि उपलब्ध गराउने गरिएको छ ।

आँखा अस्पतालमा आउने जो–कोहीले सेवा नलिइ नर्फिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जलकुमार गुरुङले बताए। “आर्थिकरूपमा सेवा लिन नसकेकाहरूलाई निःशुल्क उपचार गर्ने गरेका छौँ”, उनले भने, “खाने बस्ने सुविधासँगै जाने बेलामा यातायात खर्च पनि दिन्छौँ, अहिलेसम्म अस्पतालमा आएर त्यसै फर्किएका छैनन् ।”

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा पुरुषोत्तम जोशीले अस्पतालले समुदाय लक्षित कार्यक्रमलाई विशेष जोड दिएको बताए । “सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिएका छौँ”, उनले भने, “२०२० मा ८० प्रतिशत लक्ष्य हासिल गरेका थियौँ ।” उनले दिगो विकासको अवधारणाअन्तर्गत आँखा उपचार पनि रहेकाले सोहीअनुरुप आफूहरु लागिपरेको उनको भनाइ छ । अस्पतालमा आँखासम्बन्धी सामान्यदेखि अक्लोप्लाष्टिक, रेटिना, आँखा नानी सङ्कलनलगायतका विशिष्ट सेवा प्रदान गरिँदै आएको छ ।

अस्पतालले हालसम्म १० हजारभन्दा बढीलाई आँखासम्बन्धी स्वास्थ्य तालिम दिइसकेको छ भने अस्पतालमा कार्यरत १९४ कर्मचारीलाई समेत विभिन्न तालिममा सहभागी गराइएको अस्पताल व्यवस्थापन समितिका सचिव गणेश पोखरेलले बताए ।

मेची आँखा अस्पतालले झापा, उदयपुर, पाँचथरका विभिन्न आठवटा स्थानमा सेवा केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्यमा आँखासँगै नाक, कानको उपचारसमेत सञ्चालन गर्ने जनाएको छ । अस्पतालमा नेपालका झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङलगायत जिल्लासँगै भारतको दार्जिलिङ, सिक्किम, बङ्गाल, बिहारका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । अस्पताललाई आइकेयर फाउण्डेशन नेदरल्याण्डको विशेष सहयोग रहँदै आएको छ ।

झापाको बिर्तामोड नगरपालिकाका कृषकलाई सिँचाइका लागि आज रकम प्रदान गरिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५० कृषकलाई स्यालो ट्युबेल जडान गर्न रु ४० हजारका दरले रू २० लाख प्रदान गरिएको हो । साना सिँचाई कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकलाई रकम हस्तान्तरण गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए ।

सहारा नेपाल साकोससँगको सहकार्यमा तीन वर्षयता १५० वटा स्यालो ट्युबेल वितरण गरिएको उनले बताए । नगरपालिकाले पाँच वर्षको अवधिका ६३७ वटा स्यालो ट्युबेल वितरण गरेको छ । चालु आर्थिक वर्षमा मात्रै नगरबाट ६७ र सहारा नेपालसँगको साझेदारीमा ५० वटा स्यालो ट्युबेल वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिए । वितरित स्यालो ट्युबेलबाट करिब दुई हजार बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।

स्यालो ट्युबेलको रकम पाउनेमा बिर्तामोड नगरपालिका–२ का छ, ४ का एक, ६ का दुई, ७ का नौ, ८ का छ, ९ का १५ र वडा नं १० का ११ जना कृषक रहेका छन् । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपछी र शिक्षाको क्षेत्रमा नगरपालिकासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए। “यस्ता कामले कृृषकको जीवनस्तर उकास्न मद्दत पुग्छ”, उनले भने, “गरिबी न्यूनीकरण, उद्यमशीलता विकासका लागि हामी सदैव सहकार्य गर्न तयार छौँ ।”