बाग्मती

आयुर्वेद केन्द्रमा प्रयोगशाला सेवा सुरू

६ साउन, रसुवा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुञ्चेमा पहिलो पटक प्रयोगशाला सेवा शुरू गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गरे । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए । केन्द्र सञ्चालक समितिका अध्यक्ष दावा मिङ्मर तामाङका अनुसार प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति रहेको र उत्तरी रसुवाका करिब १० हजार बासिन्दालाई सेवा दिने लक्ष्य लिइएको छ ।

    भाडाका घरमा रहेको  केन्द्रलाई  साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा  व्यवस्थित गराई १५ शय्याको  अस्पताल सञ्चालन गराउन आफूले समन्वय गरिरहेको जिसस प्रमुख घिमिरेले बताए ।

     ढिलै भए पनि आयुर्वेद पद्धतिको उपचार रसुवामा प्रभावकारी हुँदै गएको बताउँदै  गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ का वडाध्यक्ष  दावासिदार वाइवाले आफूले अस्पताल  सञ्चालन गराउने कार्यमा पूर्णरूपले सहयोग गर्ने प्रतिवद्धता जनाए । जिल्लामा अब  रसुवा अस्पताल र जिल्ला आयुर्वेद केन्द्रसमेतका दुई प्रयोगशाला सेवाले काठमाडौँ तथा नुवाकोट त्रिशूलीमा  रिफरको समस्या हट्ने विश्वास स्थानीय बासिन्दाले गरेका छन् ।