३ साउन, काठमाडौं । निरन्तर वर्षाका कारण काठमाडौंस्थित बागमती नदीमा पानीको बहाव बढेको छ। गौरीघाट जलमापन केन्द्रमा नदीको सतह सतर्कता तहभन्दा माथि पुगेपछि जल तथा मौसम विज्ञान विभागले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ। यहाँ नदीको सतर्कता तह २.१ मिटर रहेको छ।
बाढीविद् विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेपछि खतरा तह पार गरेको मानिन्छ। अहिले नदीको बहाव बढ्दो क्रममा रहेकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागले नदी किनार, तल्लो तटीय क्षेत्र र डुबानको जोखिम रहेका बस्तीमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
साथै, बाढी तथा पहिरोसँग सम्बन्धित पछिल्ला सूचना र चेतावनी नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ।





