पर्यटन/संस्कृति

बाँकेमा मोहर्रमको स्थानीय बिदा

२४ साउन, नेपालगञ्ज । बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हुन् ।

नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए।

त्यस्तै जानकीका अध्यक्ष छब्बन खाँले सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द गरेको छ । स्थानीय पर्व बिदा दिने नगर शिक्षा समितिको निर्णयअनुसार सो बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए । सो पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुसीयालीका साथ मनाउने गर्छन् ।

विश्वभरि नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि विगतदेखि नै मनाउँदै आएको मोहर्रम पर्व तथा व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारशीले जानकारी दिए।