गण्डकी प्रदेश

प्रतिनिधिसभा : पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

२४ साउन, काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उनको परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भने, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ र यसबाट १३ जना स्थानीय गम्भीर घाइते भएका छन् । मृतकका परिवार तथा घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था होस् ।” 

मृतक सीता केसीको परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको माग छ । विद्युत्को भौतिक संरचना बलियो नहुँदा घटना भएको उनको भनाइ थियो । 

त्यसैगरी सांसद गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका–१० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गरे। भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको उनको भनाई छ ।