गण्डकी प्रदेश

तनहुँका उत्कृष्ट सामुदायिक वन पुरस्कृत

२५ साउन, दमौली । डिभिजन वन कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट सामुदायिक वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८/७९ र ०७७/७८ का उत्कृष्ट तीन/तीन सामुदायिक वनलाई पुरस्कृत गरेको हो ।

उत्कृष्ट हुन सफल सामुदायिक वनलाई सामुदायिक दिवसका अवसर पारेर आज म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा सामुदायिक वनमा आयोजित कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको छ । आव ०७८/७९ मा बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित वाराही सामुदायिक वन उपभोक्ता समूह द्वितीय र व्यास नगरपालिका–११ स्थित बूढीराम्चे सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ । 

आव ०७७/७८ मा बन्दीपुर गाउँपालिका–३ स्थित देवीथुम्का सामुदायिक वन उपभोक्ता समूह प्रथम, म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पधेंरा खोला सामुदायिक वन उपभोक्ता समूह द्वितीय र बन्दीपुर गाउँपालिका–१ स्थित छपेली सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको छ । 

प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । अघिल्लो आवमा कोभिड–१९ सङ्क्रमणका कारण कार्यक्रम गर्न नसकिएपछि आज पुरस्कार वितरण गरिएको उनले बताए । 

वन संरक्षण, संवद्र्धन, सामाजिक विकास, समुदायको विकास, वनको सुशासन लगायतलाई मूल्याङ्कन गरी उत्कृष्ट वन समूह छनोट गरिएको हो । जिल्लामा ६ सय २१ सामुदायिक वन रहेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत हुने सामुदायिक वनका प्रतिनिधिलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । 

कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले सामुदायिक वनले नेपालको प्रख्याति विश्वमाझ कमाएको चर्चा गर्दै त्यतिले मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताए । म्याग्देका अध्यक्ष श्रेष्ठले वनलाई आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले वनबाट वन समूहका उपभोक्ताको आयस्तर वृद्धि गर्नेतर्फ लाग्न सुझाव दिए । उपाध्यक्ष घिमिरेले सामुदायिक वन जोगाउन स्थानीयको अपनत्व जागृत गराउनुपर्ने बताए । 

डिभिजन वन प्रमुख काफ्लेले नेपालको वन व्यवस्थापन विश्वकै उत्कृष्ट रहेको र वन संरक्षणमा स्थानीयको योगदान रहँदै आएको बताए । वनलाई समृद्धिसँग जोडेर आयआर्जन गर्नेतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए । 

यसैबीच सामुदायिक वन दिवसका अवसरमा म्याग्दे–२ ज्यानटाङ पधेंरा खोला सामुदायिक वनमा आज दुई सय बिरुवा रोपिएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको हरितपार्कभित्र विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । 

हरितपार्कभित्रै रूखमाथि घर निर्माण गरिएको छ । यसले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको सामुदायिक वनका अध्यक्ष अर्जुन रानाभाटले जानकारी दिए । हरित पार्कलाई हरियाली बनाउन विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

समन्वय समितिका प्रमुख, म्याग्दे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, डिभिजन वनका प्रमुखसहित कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुले सो अवसरमा बिरुवा रोपेका थिए ।