पर्यटन/संस्कृति

काँग्रेससहित गठबन्धनका शीर्ष नेता, मेयर–उपमेयर धरानको समग्र विकासका लागि मन्त्रीको ढोका ढोकामा

३० साउन, काठमाडौं । धरानको सत्ता गठबन्धन दलको दलिय संयन्त्रको पहल र अगुवाईमा गएको धरान उपमहानगरका प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्र विक्रम वेघा सहितको प्रतिनिधि मण्डलले आज भौतिक पुर्वाधार तथा यातायात मन्त्री, वन तथा वातावरण मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग भेट गरेको छ ।


प्रतिनिधि मण्डलमा
दलीय संयन्त्रका संयोजक किशोर राई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओेवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुव लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सीपी बजगाईँ रेहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री मो. ईस्तियाक राईसँगको भेटमा सर्दु पुलदेखि भन्ज्याङसम्मको सडक निर्माण र सेउती खोला खांकरडाँडामा पक्की पुल निर्माणका लागि बजेट व्यवस्था गर्ने भएको छ ।
त्यसैगरी वन तथा वातावरण मन्त्री प्रदिप यादवसँगको भेटमा जिल्ला ट्राफिक कार्यालय सुनसरीको भवन निर्माणका लागि तिनकुनेस्थित लाङ्घाली सामुदायिक वनको ५ कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँगको भेटमा वीपी पार्क, सभागृह मर्मत, नाटक घर निर्माण, हेलिपेड निर्माण, सप्तकोशी कटान नियन्त्रण, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर लगायत वृहत्तर विजयपुर विकास समिति निर्माण, विष्णुपादुका, रामधुनी, वर्जु ताल लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटनको रुपमा विकास गर्न ब्रान्डिङ गर्ने, पर्यटकीय खेलकुदलाई विकास गर्ने, धरान विमानस्थलको पृष्टभुमिको अध्ययन गर्ने लगायतको विषयमा सकरात्मक छलफल भएको छ ।

प्रतिनिधि मण्डलमा जसपाका संघीय अध्यक्ष अशोक कुमार राई, पुर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भिम राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरु डा. तुलसी गौतम, प्रेम राई, नेपाली काँग्रेस सुनसरी–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्य लगायतको पनि सहभागी थियो ।