३१ साउन, गलेश्वर । विगतका दुई वर्ष कोरोना महामारीका कारण सुस्ताएको धार्मिक पर्यटन म्याग्दीमा पुरानै लयमा फर्किन थालेको छ । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउन महिनामा मात्र सवा लाख धार्मिक पर्यटक आएका र अन्तिम सोमबार एकैदिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर धाम पछिल्लो समय धार्मिक पर्यटकको आकर्षकस्थल बनेको उनको भनाइ छ । यसवर्ष साउन महिनामा पाँच सोमबार परेकोमा गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, बुटबल, भैरहवा, काठमाडौं, नेपालगञ्ज, वर्दिया र बझाङ जिल्लाबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनलाई लक्षित गरेर विभिन्न १९ उपसमिति गठन गरी उनीहरुलाई सहज रुपमा पूजाअर्चना गर्ने व्यवस्थापन मिलाइएको थियो । अन्तिम सोमबार विगतका चार सोमबारमा भन्दा पनि सबैभन्दा धेरै भक्तजनले मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका थिए । पाँच सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाको कारणले पूजाअर्चना गर्न नपाएका भक्तजनले यसवर्ष गलेश्वर पुगेर पूजा गरेका छन् ।
यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट ३० हजारभन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पछिल्लोपटक गलेश्वर क्षेत्रमा भक्तजनलाई लक्षित गरेर विभिन्न धार्मिक पूर्वाधार निर्माण गरिएपछि मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ । बेनीका महिला उद्यमी हिराँदेवी कँडेलले मनोकामनासहित परिवारमा सुख, शान्तिको कामना गर्दै गलेश्वरको दर्शन गरेको अनुभव सुनाए।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, ज्येष्ठ नागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ ।
साउने सोमबार हिन्दू महिलाको लागि विशेष दिन मानिन्छ । यस दिन महिला ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा साउने सोमबारको दिन बिहानैदेखि खासगरी ब्रतालु महिलाको भीड लाग्ने गर्दछ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिला बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि मानिन्छ । पवित्र कृष्णागण्डकीबाट उठेर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।