प्रदेश 1

घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी

१ भाद्र, भोजपुर । समाजमा घरेलु हिंसा, कुटपिट, जबरर्जस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ ।

समाजमा हुने यस्ता खालका घटनाको छानविन तथा समस्याको समाधन गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै सञ्चालन गरेर सचेतना फैलाइरहेको छ । कानुनी ज्ञानको अभावका करण गाउँघरमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सचेतनाको अभियान थालेको छ ।

न्यायिक समितिले कानुनी सेवाको विषयमा जानकारी गराउने उद्देश्यले अभियानको थालनी गरेको छ । अभियानमार्फत घटनाको वर्गीकरण गरेर कस्ता घटनालाई स्थानीय तहले निरुपन गर्ने, कस्ता घटनाको मिलापत्र गर्ने, कस्ता घटना भए अदालत तथा प्रहरी समक्ष जाने लगायत विषयमा जानकारी दिँदै आएको छ ।

कानुनी ज्ञानको अभावले पनि विभिन्न आपराधिक घटना घट्ने गरेका छन् । कानुनी दण्ड, सजायसँगै कहीँकतैबाट अन्याय भएमा कसरी न्याय पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन थालिएको हो । कार्यक्रममार्फत गाउँपालिकाभित्रका आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका, बालबालिका, विद्यार्थीलगायतलाई भेला पारेर सचेत गर्ने गरिएको छ ।

अभियानका क्रममा न्यायिक समितिको काम कर्तव्य र अधिकारसँगै समाजमा स्थानीयवासीले खेल्नुपर्ने सकारात्मक भूमिका विषयमा पनि जानकारी दिइएको छ । यो अभियान गाउँपालिकाका छवटै वडामा सञ्चालन गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । “समाजमा हुने विभिन्न खालका घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरिरहेका छौँ,” उनले भने, “जनचेनता फैलाएसँगै यस्ता घटनामा क्रमिक रुपमा कमि आएको छ । हामीले सबै क्षेत्रका नागरिकलाई समेटर सचेतना कार्यक्रम गरिरहेका छौँ ।”

सचेतनामूलक कार्यक्रमको प्रभावले पछिल्लो समयमा न्यायिक समितिमा आउने मुद्दामासमेत कमि आएको उपाध्यक्ष राईले बताए। उनले भने, “हामीले समितिमा आउने मुद्दाको निरुपन गरिरहेका छौँ । मुद्दा नै नआउने वातावरण सिर्जना गर्न लागि परेका छौँ ।”

कानुनी चेतनासँगै गाउँपालिकाको न्यायिक समितिले प्रदान गर्ने अन्य सेवाको बारेमासमेत जानकारी पाएको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाको सेवा वडास्तरमै पाउँदा स्थानीयवासी खुसी भएका छन् । गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य रहेको स्थानीयवासीले बताएका छन् । कानुनी ज्ञानको अभावमा हुने विभिन्न झन्झटबाट मुक्त हुने अवसर पाएको स्थानीयवासी ज्ञानुमाया राईले बताए । “ हामीलाई सामान्य कानुनी ज्ञान नहुँदा धेरै समस्या हुन्थ्यो,” उनले भने, “अहिले आफ्नै ठाउँमा कानुनी ज्ञान पाउँदा खुुसी लागेको छ ।”

गाउँपालिकाले वडास्तरमै न्यायिक समितिले प्रदान गर्ने कानुनी ज्ञान दिएपछि थप सहज भएको पौवादुङमा ६ का वडाध्यक्ष दक्षकुमार राईले बताए । कानुनी जानकारी स्थानीयवासीलाई दिएसँगै उनीहरुको चेतनास्तर वृद्धि भएको उनको भनाइ छ ।