कर्णाली प्रदेश

मृत्यु प्रकरणबारे बुझ्न कानुनमन्त्री शाही घटनास्थलमा

३ भाद्र, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुगेका छन् ।

लेकबेँसी नगरपालिका–१० सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकमा बस्दै आएका ५८ वर्षीय लामिछानेलाई बिहीबार सालको रूख काटेको आरोपमा सब–डिभिजन कार्यालय सुर्खेतका कर्मचारीले पक्राउ गरेर ल्याएका थिए । पक्राउ गरी वन कार्यालयको हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुन्डिएको अवस्थामा लामिछाने भेटिएपछि मृतकका आफन्तहरू आक्रोशित बनेका थिए ।

आक्रोशित आफन्तहरूले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गर्दा अवस्था अहिले पनि सामान्य हुन सकेको छैन । सोही घटनाको वस्तुस्थिति बुझ्न आन्तरिक मामिलामन्त्री शाही डिभिजन वन कार्यालयमा पुगेका छन् ।

मृतकका आफन्तहरूले भने कर्मचारीले कुटेर मारेको आरोप लगाउँदै आएका छन् । उनीहरूले घटनामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै त्यसो नभए शव नउठाउने चेतावनी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनास्थल मुचुल्का बनाउने तयारी गर्न थालिएको बताए ।