खेलकुद

एभरग्रिन कपको उपाधि आयोजकलाई

४ भाद्र, म्याग्दी । इच्छा स्मृति पाँचौँ एभरग्रिन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । बेनीमा आज सम्पन्न फाइनलमा मालिका युवा क्लब सहश्रधारालाई दुईका विरुद्ध तीन गोल गरेर एभरग्रिनले उपाधि जितेको हो । निर्धारित ५० मिनेटको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि ट्राइबे्रकरमा धकेलिएको थियो ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २७ समूहको सहभागिता रहेको क्लबका अध्यक्ष निराज राम्जालीले बताए। उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु ८५ हजार पाँच सय ५५ र उपविजेताले रु ४५ हजार पाँच सय ५५ प्राप्त गरे । 

प्रथम पुरस्कार स्वर्गीय इच्छा भण्डारीका परिवार र द्वितीय पुरस्कार धवलागिरि गाउँपालिका–४ घर भई हाल अमेरिकामा रहेका भीमराज पुनले प्रायोजन गरेका थिए । पश्चिम म्याग्दी युवा क्लब दरवाङले अनुशासित टिमको उपाधिसहित नगद रु १० हजार पुरस्कार पाएको छ । एभरग्रिनका कमल थापामगर उत्कृष्ट खेलाडी, डिफेण्डरमा आशिश गुरुङ, कोचमा सन्दिप शेरपुञ्जा, गोलरक्षकमा निशान राम्जाली उत्कृष्ट बने । मालिकाका राहुल थापा उत्कृष्ट मिडफिल्डर र छ गोलसहित एभरग्रिनका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । 

विजेता र उपविजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे), उनका सचिवालय संयोजक रोनित गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायत पुरस्कार वितरण गरे। मन्त्री गुरुङका तर्फबाट मन्तव्य व्यक्त गर्दै सचिवालय संयोजक रोनित गुरुङले बेनीको खुल्लामञ्च खेल मैदान निर्माणका लागि यस वर्ष रु आठ लाख विनियोजन भएको, प्रदेशभर २४३ खेल पूर्वाधार निर्माण गरेको, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको तर्फबाट सहभागी भएर स्वर्णपदक दिलाउने खेलाडीलाई मासिक रु तीन हजार उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

मन्त्री गुरुङले मन्त्रालयको तर्फबाट आयोजकलाई प्रतियोगिता सञ्चालनका लागि रु ५० हजारको डमी चेक हस्तान्तरण गरे । सो अवसरमा फुटबल खेलको विकासमा योगदान गरेकोमा बेनी नगर कार्यपालिका सदस्य रहेका जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष कृष्णुकमार विश्वकर्मा र दरवाङका दोरण शेरचनलाई सम्मान गरिएको थियो । 

युवा क्लबलाई मन्त्री गुरुङले खेलकुद सामग्री वितरण गरेका थिए । भदौ १ गते सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए ।